काठमाण्डौ । ललितपुर महानगरपालिकाले ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ। 

ललितपुर महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी ४ महिनामा ६ वटा बिजुली बस सञ्चालनमा ल्याउन लागेको हो। यस योजना खाका बनाइसकेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। ‘अब एक हप्ताभित्रमा टेन्डर पनि आह्वान गर्दैछौँ’, उनले भने। 

बस किन्न महानगरले साझा यातायातलाई साढे २ करोड रुपैयाँ दिइसकेको छ। त्यसमा साझाले पनि केही रकम थप गर्नेछ।

यी बसहरू ललितपुर महानगरका मुख्य पर्यटकीयस्थलमा चल्नेछन्। पहिलो चरणमा पुल्चोकबाट मंगलबजार, लगनखेल, जाउलाखेलहुँदै पुनः पुल्चोकसम्म एउटा रुट, अर्को रुट पुल्चोकबाट मंगलबजार, पाटन, सुन्धारा, महाबौद्ध हुँदै पुनः पुल्चोकसम्म बिजुली बस चल्छन्।

त्यस्तै तेस्रो रुटअनुसार जावलाखेल, लगनखेल, एकान्तकुना, धोबीघाट, कुपन्डोल, सानेपासम्म बिजुली बस चलाइने योजना महानगरको छ। 
यी बसको सिट क्षमता १४ देखि १६ को हुनेछ। पर्यटक, शारीरिक अशक्तता भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकालाई शुल्क नलाग्ने मेयर महर्जनले बताए।