काठमाण्डौ । कोभिड–१९ का कारण तहसनहस भएको अर्थतन्त्रलाई चलायमान बनाउन सक्रिय निजी क्षेत्र तथा लगानीकर्ताहरुको लामो समयदेखिको चासो अर्थमन्त्रीमा रहेको छ । डा. युवराज खतिवडाको अर्थमन्त्री पद भदौ २० देखि फुस्किएपछि नयाँ अर्थमन्त्रीको रुपमा कसैलाई पनि नियुक्त गरिएको छैन । 

अर्थमन्त्रीमा कसैलाई नियुक्ति नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदका सदस्यहरुलाई थाहै नदिई अर्थमन्त्रीबाट बहिर्गमनमा परेका डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाए, अर्थमन्त्रालयको जिम्मेवारी प्रम स्वयम्ले लिए । डा. खतिवडालाई ‘घोस्ट अर्थमन्त्री’को रुपमा अगाडि सार्ने योजनाअनुसार ओलीले निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनका नेताहरुलाई बालुवाटार बोलाएका थिए । अर्थमन्त्रीबाट डा. खतिवडा हटेका खबरले खुशी निजी क्षेत्र र लगानीकर्ता जब प्रधानमन्त्रीले बालुवाटार बोलाएर त्यहाँ डा. खतिवडालाई अर्थमन्त्रीकै हैसियतमा अगाडि सारे, तब निजी क्षेत्र समेत हच्कियो । अर्थमन्त्रालयबाट विदा भएका खतिवडाले नै फेरि पनि अर्थमन्त्रालय मात्र नभई प्रमको विशेष आर्थिक सल्लाहकार भएर उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, यातायात व्यवस्था लगायतका मन्त्रालयमा समेत आफ्नो प्रभाव जमाउनसक्ने देखेर निजी क्षेत्रका नेता हच्किएका थिए । 

आफ्नो कार्यकालभरि निजी क्षेत्रलाई डा. खतिवडाले राम्रो नजरले नहेरेका उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए । ‘उद्योगी व्यवसायी भनेका सबै चोर र फटाहा हुन् जस्तो व्यवहार गर्नुभयो ।’ ती पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘अर्थमन्त्रीबाट जाँदा हामी खुश थियौं । घोस्ट अर्थमन्त्री बनाउने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त गर्दा हामी झस्कियौं । तर, अब उहाँलाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । अब भने हाम्रो पीडा र कुरा बुझ्ने व्यक्ति अर्थमन्त्रीको रुपमा आउने आशा बढेको छ ।’
 
निजी क्षेत्रका ती नेताले अबको अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डे आउनूपर्छ भन्ने तर्क पेश गरे । उनले भनेजस्तै के अब अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डे नै आउन लागेका हुन् त ? वा, अर्थमन्त्रीका अन्य संभावित दाबेदार को–को हुनसक्लान् ? 

डा. खतिवडा अमेरिकाका लागि राजदूत बन्ने भएपछि अब ओलीले अर्थमन्त्रालय आफैंसँग राख्ने पूर्वयोजना रद्ध गरेको बुझ्नुपर्छ । अब उनले पनि आफूले भनेको मान्ने ‘एस म्यान’लाई अर्थमन्त्री बनाउने संभावना छ । तर, अर्थमन्त्रालयमै पार्टी पंक्तिको दवाब भने ओलीको चाहनाविपरीत छ । 

सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभाको सदस्य नियुक्तिपछि सर्वोच्चमा परेको रिटको अन्तिम सुनुवाई र फैसला शुक्रबार(भोलि) हुने संभावना छ । उनलाई मन्त्री बन्नबाट रोक्ने गरी सर्वोच्चमा रिट दायर भएको छ । यदि  सर्वोच्चको पूर्ण इजलासले गौतमको पक्षमा फैसला गरिदियो भने उनले अर्थमन्त्रालय सम्हाल्ने संभावना छ । यस्तो अवस्थामा वरिष्ठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय बामदेव गौतमको पोल्टामा पुग्नेछ । 

स्रोतकाअनुसार बामदेव गौतम आफूले अर्थमन्त्रालय नपाए गृह पाउनुपर्ने अडानमा छन् । ओलीलाई अप्ठ्यारो पर्दा प्रचण्डको साथ समेत छाडी काँध थापिदिएका रामबहादुर थापा(बादल)लाई गृहमन्त्रीबाट हटाउने वा मन्त्रालय अर्को दिने संभावना न्यून छ । यसो हुँदा अन्तिम अवस्थामा ओलीले गृहमा बादललाई नै निरन्तरता दिई अर्थमा बामदेवलाई ल्याउनसक्छन् । तर, यो त्यति सहज भने छैन । 

बामदेवबाहेक अर्थमन्त्रीको दाबेदरको रुपमा अन्य तीन नेता मैदानमा देखिएका छन् । नेकपाका महासचिव विष्णु पौडेल, ओलीको प्रिय पात्र तथा हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सफल रुपमा अर्थमन्त्रालय हाँकिसकेका सुरेन्द्र पाण्डे अर्थमन्त्रीको प्रवल दाबेदार हुन् । 

यी नेतामध्ये सुरेन्द्र पाण्डेलाई केही दिनअघि चितवन भएको बेला बालुवाटारबाट मन्त्री बन्ने अफरसहितको फोने नै गएको पाण्डे निकट स्रोतले बताएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले फोन गरेर पाण्डेलाई ‘मन्त्रीको रुपमा आउनुपर्यो, ओलीलाई सहयोग गर्नुपर्यो’ भनेका थिए । सो संवादमा सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्रालयबाहेकका मन्त्रालयको जिम्मेवारीमा नआउने प्रष्ट पारेका थिए । पाण्डेलाई अर्थमन्त्री दिन सकिने विषयमा भट्टराईले कुनै संकेत नदिएका बुझिएको छ । यस्तो अवस्थामा ओलीले पाण्डेलाई अर्थ बनाउन नचाहेको देखिन्छ । 

पाण्डेबाहेक ओली निकटका दुई नेता विष्णु पौडेल र प्रदीप ज्ञवाली समेत अर्थमन्त्री बन्न सक्छन् । विष्णु पौडेलले यसअघि पनि अर्थमन्त्रालय चलाइसकेका छन् । तर, पार्टीको महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा पार्टी काममा व्यस्त हुने भएकोले आफू मन्त्री नबन्ने पौडेलले बताउँदै आएका छन् । उनको यो अभिव्यक्तिले निरन्तरता पायो भने अर्थमन्त्रीको रुपमा प्रदीप ज्ञवालीको उदय हुनसक्छ । 

प्रदीप ज्ञवाली ओली नेतृत्वको सरकार गठन हुँदै गर्दा पनि अर्थमन्त्रीको रुपमा आउन चाहेका थिए । उनले त्यसका लागि लविङ पनि गरेका थिए । तर, डा. खतिवडालाई ओलीले टिपेपछि अर्थमन्त्री बन्ने ज्ञवालीको सपना अढाई वर्षअघि थन्किएको थियो । थन्किएको त्यही सपनालाई साकार पार्दै ओलीका प्रिय पात्र ज्ञवाली अर्थमन्त्रीको रुपमा आउनसक्ने संभावना प्रवल रहेको स्रोत बताउँछ ।