काठमाण्डौ । पूर्वखानेपानीमन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरेकी छन्। 

मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुगेकीपूर्वमन्त्री मगरले त्यहाँ प्रशोधन केन्द्रको अवलोकन गरेकी छिन्। सुन्दरीजल पुगेपछि उनले भनिन्, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ।’

मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाण्डौ उपत्यकामा वितरण गरिनेछ। आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक–दुई दिनपछि काठमाण्डौका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो। इटालियन कम्पनी सिएमसीले बीचैमा काम छाडेर गएपछि पूर्वमन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो।

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेक थ्रुदेखि हेडवर्कस, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा छ।