काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा अकाउन्टलाई सीधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्। योसँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ।

अब इसेवा अकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन्। आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले अकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए। उनले भने, ‘इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ। नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरुआत गरेका हौँ।’ 

अकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा अकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ। यसका साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग अकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ। यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा अकाउन्टमा सेकेन्डरी आइडीका रुपमा राख्न सकिनेछ। 

बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होमपेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ।  यहाँ लिंक अकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ। त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्नेछ। यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखी क्लिक गर्नुपर्नेछ। त्यसपछि मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्ड राखी ‘पे’मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ। 

बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी ‘लोड मनी’ अप्सनमा गई आफूले लिंक गरेको बैंक अकाउन्टमा क्लिक गर्नुपर्नेछ। त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ। 

हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा अकाउन्ट लिंक गर्न सकिनेछ। निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिनेछ। 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।