काठमाण्डौ । सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लामो लाइन बसी आईपीओ फारम बुझाउने झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यले अतुलनीय सहजतासहित नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरुले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको सुरुआत गरेको छ। 

एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस नवीन सेवाअनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरुमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन्। 

कोभिड महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी एनआईसी एसियाको मोबाइल बैंकिङ एपबाट आईपीओमा आवेदन दिन सकिने सुविधाको सुरुआत गरेको हो। 

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले एपभित्र रहेको ‘Apply Share’ आइकनमा ट्याप गरेर आवेदनदिन सक्नेछन्। ‘Apply Share’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरुमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सोबाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको सर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ। 

ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओमा आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। यसरी घरमै बसेर आईपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरुले एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नभएमा यस बैंकमा बचत खाता खोलेर एनआईसी एसिया मोबाइल बैंकिङ एप डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोली समयमै आईपीओ भर्ने सुविधाबाट लाभान्विन हुन सक्ने बैंकले जनाएको छ। 

यसका साथै बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेरसमेत आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरेको छ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।