काठमाण्डौ । खल्ती (स्प्यारो पे प्रालि) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (पीपी) को डिम्याट अकाउन्ट नवीकरण शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ। यसका लागि अन्य सेवा शुल्क लाग्ने छैन।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यससम्बनधी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै अब मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको हो। डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लग इन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ।  

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ। समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ। खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन। साथै विभिन्न कम्पनीले निष्कासन गर्ने प्राथमिक सेयरहरु (आईपीओ) मा पनि आवेदन गर्न सकिँदैन। 

यस सन्दर्भमा भूर्तेलले भने, “अब ३० लाखभन्दा बढी खाताधनीले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठूलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।”

लगानीकर्ताहरू यसअघि डिम्याट खाता सञ्चालक मेरो सेयर र कम्पनी (डीपी) को कार्यालय धाएर डिम्याट खाताको नवीकरण शुल्क तिर्दै आएका थिए।