काठमाण्डौ । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरैबसी तिर्न सकिने भएको छ। बीपीसीले स्याङ्जाको वालिङ, गल्याङ, रामपुर र झिमरुक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ।

बीपीसीका कर्पोरेट विभाग प्रमुख टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस सम्झौता पश्चात यो सम्भव भएको हो। यस भुक्तानीका लागि खल्ती एपको होम पेजको युटिलिटी पेमेन्टमा ‘कम्युनिटी बेस्ड इलेक्ट्रिसिटी’ सेक्सन थपिएको छ। त्यसमा बीपीसी लेखिएको ठाउँमा थिची बुटवल पावर कम्पनीको बिल तिर्ने काउन्टर, ग्राहक परिचय नम्बर र ग्राहक नम्बर हालेपछि तिर्नु पर्ने रकम देखाउँछ। उक्त रकम ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सीधै बैंकबाट तिर्न सक्छन्। 

ग्राहकले विद्युत प्रयोेग गरेको महसुल अग्रिम र ढिला दुबै भुक्तानी गर्न सक्ने छन्। अनलाइनमा ग्राहकको बिल भुक्तानी गर्न बाँकी भएको तीन महिनासम्मको बिल हेर्न सक्नेछन्। 

यस सम्झौतापश्चात सहायक प्रबन्धक जोनाम भूर्तेलले भने, ‘अब बिजुलीको बिल भुक्तानी गर्न पैदल हिँडी वा गाडी चढी नै तिर्न पर्ने समस्याबाट बिपिसीका सेवा ग्राहीहरु मुक्त हुनेछन्। नेपालको सुगम तथा दुर्गम दुबै क्षेत्रलाई ओगट्ने गरी बीपीसीको सबै क्षेत्रका प्रयोगकर्ताले घरै बसी अनलाइन भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रा लागि ठूलो उपलब्धि हो। यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।’

चार क्षेत्रमध्ये पहिलो चरणमा वालिङ, गल्याङ, रामपुरको भुक्तानी सुरु भइसकेको छ भने झिमरुकको भने दोस्रो चरणमा सुरु हुनेछ।