काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अब छिटै ब्रोकर कमिसन घटाउने भएको छ।

बोर्डका सहप्रवक्ता रुपेश केसीले छिटै ब्रोकर कमिसन घटाउने विषय टुंगो लाग्ने जानकारी दिएका छन्। पछिल्लो चरणमा भएका सेयर कारोबार र बजारको परिदृश्यलाई समेत हेरेर ब्रोकर कमिसन कटौती गरिने उनको भनाइ छ। 

बुलिस ट्रेन्डमा कुदिरहेको बजारमा हिजोआज दैनिक ८ अर्ब रुपैयाँभन्दा बढी कारोबार सामान्य भइसकेको छ। बजारको अधिक तरलता र बैंकको न्यून ब्याजदरले दैनिक कारोबार १० अर्ब रुपैयाँ माथि हुने अपेक्षा रहेको बताइन्छ।

एक अर्ब रुपैयाँ कारोबार हुँदा पनि ब्रोकर कमिसनको दर र अहिले ९ अर्ब रुपैयाँ कारोबार हुँदासमेत एउटै हुनु न्यायोचित नहुने लगानीकर्ताहरु बताउँछन्। हालको ब्रोकर कमिसन दक्षिण एसियाकै सबैभन्दा बढी रहेको उनीहरुको भनाइ छ। उनीहरुले अहिलेको अवस्थामा ब्रोकर कमिसन ०.२० प्रतिशत हुनुपर्ने माग गरेका छन्।

हाल सेयर किनबेच पूर्ण रुपमा अनलाइन माध्यमद्वारा भइरहेकाले स्टक ब्रोकर कम्पनीहरुको लागत घटिरहेको तर लगानीकर्ताहरुको लागत भने बढिरहेको भन्दै सामाजिक सञ्जालमा लगानीकर्ताहरुले तीव्र विरोध जनाइरहेका छन्।