काठमाण्डौ । अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्म खर्च गर्न पाइने भएको छ।


नेपाल राष्ट्र बैंक आइतबार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सूचना सार्वजनिक गरेको हो। जसअनुसार अब स्वदेशका बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर उक्त रकमबराबर खर्च गर्न पाइने भएको छ। 

यसअघिसम्म विदेशी कार्डमार्फत मात्रै भुक्तानी हुँदै आएको थियो। नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था थिएन।

राष्ट्र बैंकले वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई ५०० अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिएको छ। 

परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ। कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ।

प्रयोगकर्ताले एकैपटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन्। सो प्रयोजनका लागि कार्ड जारी भई सक्रिय भएको दिनबाट समयावधि गणना सुरु हुनेछ।

नेपालको प्रचलित कानूनले प्रतिवन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत विदेशबाट खरिद गर्न सक्नेछन्। बैंकहरुले कुनै पनि समयमा अमेरिकी डलर ५०० वा सोबराबरको परिवर्त्य विदेशी मुद्राको सीमाभन्दा बढी रकम कार्डमा जम्मा गर्न पाइने छैन।

कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रासमेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ। यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्थासमेत गर्नुपर्नेछ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानीका लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र ५०० डलरको योगबराबर हुनेछ तर यस्तो रकम बढीमा वार्षिक ५ हजार डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सीमित हुनेछ।

कार्डको मौज्दात ५ हजार डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ।

प्रिपेड कार्ड जारी गर्दा बैंकहरुले ग्राहकबाट अन्य बैंक र विकास बैंकबाट सो सुविधा नलिएको स्वघोषणा अनिवार्य गराउनुपर्नेछ। खातामा रहेको रुपैयाँ खर्च हुनेगरी सम्बन्धित खातावालाको नाममा प्यान नम्बरसमेत भिडाइ कार्ड जारी गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाही हुनेछ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।