काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ। यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताले मेगा बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ। 

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक तथा नेपालबाट सामान आयात गर्ने चिनियाँ व्यापारीले अब विभिन्न सामाग्री तथा सेवाका लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन्। नेपालमा वर्षेनी लाखौँ चिनियाँ पर्यटक आउने गरेका छन्। 

चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटक लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाऊ पुग्ने मेगा बैंकको विश्वास रहेको छ। डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए।