काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने भुक्तानीको सीमा बढाएको छ। 

राष्ट्र बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानीको सीमासमेत बढाएको हो। अब मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ पुर्याइएको छ। यसअघि मोबाइल बैंकङमार्फत हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा १० लाख रहेको थियो। 

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिन पाउने अधिकतम शुल्कसमेत राष्ट्र बैंकले तोकेको छ। यसमा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने नयाँ व्यवस्था गरिएको छ।

यसैगरी अब बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ। यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो। 

यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदा पनि प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ पठाउन सकिने राष्ट्र बैंकले सीमा तोकेको छ। 

एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने राष्ट्र बैंकले कुनै परिवर्तन गरेको छैन। वालेटमार्फत अर्को वालेटमा पैसा पठाउँदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ।

वालेटमा बढीमा ५० हजार रुपैयाँसम्म ओभरनाइट मौज्दात राख्न पाइने नयाँ व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा २५ हजार रुपैयाँमात्रै थियो।

संस्थागत ग्राहक र एजेन्टबाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ। वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्टमार्फत अधिकतम २५ हजार रुपैयाँसम्म र प्रतिमहिना अधिकतम १ लाख रुपैयाँसम्म नगद जम्मा गर्न सक्नेछन्। ग्राहकले माग गरेको अवस्थामा एजेन्टमार्फत प्रतिमहिना २५ हजार रुपैयाँभन्दा बढी नहुने गरी प्रतिदिन ५ हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन्।

विद्युतीय कारोबारमा लिइने सेवा शुल्कसम्बन्धी विवरण प्रत्येक ६/६ महिनामा नियमित रुपमा वा शुल्क परिवर्तन भएको समयमा संस्थाको वेबसाइटमा प्रस्ट देखिने गरी सार्वजनिक राष्ट्र बैंकले जनाएको छ। 

यसैगरी एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम २ वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ। २ वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाहरुले प्रतिकारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने नयाँ व्यवस्था गरिएको छ।