काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयरको अतिरिक्त निश्कासन(फर्दर पब्लिक इस्यू)का लागि निश्चित आधार र मापदण्ड तोकेको छ । 

फर्दर पब्लिक इस्यूको मूल्य निर्धारणलाई व्यवस्थित, स्वच्छ, निश्पक्ष र पारदर्शी बनाउन र मूल्य निर्धारणमा एकरुपता कायम गर्न केही समयअघि गठित समितिको सिफारिसलाई आधार मानी बोर्डले निश्चित आधार र मापदण्ड तयार गरेको हो । 

शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धितोपत्र बोर्डले सिफारिस समितिले बुझाएको प्रतिवेदनका आधारमा साउन २५ गते बसेको बोर्डको बैठकले संगठित संस्थाको विगत, वर्तमान र भविष्यको बित्तीय विवरणको मूल्यांकन तथा औसत बजार मूल्यका आधारमा फर्दर पब्लिक इस्यूको मूल्य निर्धारण हुने व्यवस्था मिलाइएको बताएको छ । 

बोर्डका अनुसार अतिरिक्त निश्कासनको मूल्य निर्धारणअघि सम्बद्ध कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रति शेयर खूद सम्पत्तिको मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई मुख्य आधार मानिनेछ । 

‘सूचिकृत संगठित संस्थाले फर्दर पब्लिक इस्यूको मूल्य निर्धारण गर्दा तोकिएका विधिहरु अवलम्बन गरी मूल्य गणना गर्ने र सबै विधिहरुबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणना गरी मूल्य निर्धारण गर्नुपर्नेछ ।’–बोर्डको विज्ञप्तिमा भनिएको छ । 

सेयरको अतिरिक्त निश्कासनको निर्णय वार्षिक साधारणसभाबाट पारित भएको ४ महिनाभित्र सम्बद्ध कम्पनीले बोर्डमा निवेदन दिइसक्नुपर्ने नियम समेत लागू गरिएको छ । 

फर्दर पब्लिक इस्यूमा धितोपत्रको मूल्य निर्धारण गर्दा गराउँदा केही पक्षको औचित्य समेत पुष्टि गर्नुपर्ने शर्त अघि सारिएको छ । 

बोर्डका अनुसार कम्पनीहरुले अतिरिक्त निश्कासन गर्नुअघि सम्बन्धित व्यवसायको औसत प्रतिफल तथा विटा गणना भएको हकमा सोका आधारहरु, प्रति सेयर खूद सम्पत्तिको मूल्य गणना गर्ने प्रयोजनका लागि समावेश भएका विभिन्न रकमहरुको विस्तृत विवरण र आधारहरु समेत पुष्टि हुनुपर्नेछ । यसैगरी, बित्तीय प्रक्षेपणका आधारहरुको औचित्य र डिस्काउण्ट रेट तथा टर्मिनल ग्रोथ रेट गणना गर्दाका आधारहरुको औचित्य समेत पुष्टि गर्नुपर्नेछ ।