काठमाण्डौ । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्। 

मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौतासमेत भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन्। 

करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ। यस्तै वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ। मोबाइल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदातालाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले मोबाइल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गई रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरी करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ। 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो। फोनपे नेटवर्कमा ५२ वटाभन्दा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने १ लाख ८० हजार बढी मर्चेन्ट रहेका छन्। ९० लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत  यसले सेवा प्रदान गर्दै आएको छ। 

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्री.२.१ प्रमाणीकरण प्राप्त संस्था हो।