काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट गर्ने भएको छ। 

निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै जनाएको छ। त्यसैले सम्बन्धित कर्मचारीहरुलाई एक महिनाभित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

सूचनामा राष्ट्र बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई बैंकबाट प्रदान गरिने निवृत्तिभरणबापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको बैंक खातामा मात्र भुक्तानी गरिने उल्लेख छ। 

निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधिको दफा (८) को उपदफा (२) मा भएको व्यवस्थाअनुसार बैंक खातासम्बन्धी विवरण पेस गर्न बाँकी निवृत्तिभरकले संलग्नबमोजिमको फाराम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागमा वा ई–मेल ठेगाना fmd@nrb.org.np मा बुझाउन सूचनामार्फत आग्रह गरिएको छ।