काठमाण्डौ । अब ग्राहकले विद्युत महसुल महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर भुक्तानी गर्न सक्ने भएका छन्। 

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो। सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरु वा जोकोहीले पनि आफूले खपत गरेको विद्युतको महसुल बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमै उपस्थित भई भुक्तानी गर्न सक्नेछन्। सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० रुपैयाँसम्मको विद्युत महसुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ रुपैयाँभन्दा माथि  ५ लाख रुपैयाँसम्मको महसुल भुक्तानीमा रु. ५ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ। 

यो सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ। 

बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।