काठमाण्डौ । स्कटल्यान्ड लुमिराडीएक्स नामक एउटा कम्पनीले अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा सार्वजनिक गर्ने भएको छ।

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्ससँग यस विषयमा स्कटल्यान्ड स्वास्थ्य सेवा विभागले सम्झौता पनि गरिसकेको छ। सम्झौताबमोजिम अब यो कम्पनीले आफ्नो कारखानामा खास टेस्टिङ स्ट्रिप बनाउनेछ। यो स्ट्रिपको मद्दतले केवल १२ मिनेटमै कोरोनाको नतिजा पत्ता लाग्ने कम्पनीले दाबी गरेको छ। 

स्कटल्यान्ड सरकारका मन्त्री इवान म्याक्कीका अनुसार लुमिराडीएक्सका साथ भएको सम्झौताबमोजिम यो कम्पनीले सरकारका स्वास्थ्य एजेन्सीहरुका लागि १२ मिनेटमै कोरोना संक्रमणको नतिजा पत्ता लगाउने टेस्टिङ किटहरु बनाएर उपलब्ध गराउनेछ। ‘यो महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण औजार बन्न सक्छ’, इवानले भने। 

कोरोना टेस्टमा टेस्टिङ डिभाइसमा विशेष प्रकारका स्ट्रिपको प्रयोग हुने पनि इवानले बताए। ‘जुन स्कटल्यान्डमा बन्नेछ, यसले यहाँका मानिसका लागि रोजगारी पनि सिर्जना हुनेछ’, उनले भने, ‘यसले हाम्रा उत्पादन उद्योगहरु पनि मजबुत हुनेछन्।’

यो टेस्टमा नाकबाट लिइने स्वाबको परीक्षण कोभिड–१९ एन्टीजन प्रोटिनका लागि गरिनेछ। टेस्टको नतिजा १२ मिनेटमै आउनेछ। अन्य रेपिट एन्टीजनको तुलनामा यसको नतिजा छिटै आउने विश्वास गरिएको छ। यो टेस्टिङ डिभाइज क्लाउड सिस्टममा जडित हुनेछ ता कि स्वास्थ्य अधिकारीहरुलाई भाइरसका विवषयमा छिटै जानकारी प्राप्त होस्। 

लुमिराडीएक्सका चिफ एग्जिक्युटिभ रन ज्वानजिगरका अनुसार यसबाट कोरोनाको नतिजा छिटोमात्र होइन भरपर्दो पनि हुनेछ। यसैका आधारमा चिकित्सकले छिटै बिरामीको उपचार सुरु गर्न सक्ने ज्वानजिगर बताउँछन्। 

यसका साथै कोरोना टेस्टका लागि एउटा ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान र साना क्लिनिक र घुम्ती अस्पतालहरुमा प्रयोग गर्न सकिने खालका मेसिन बनाउने काम पनि भइरहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्। यी सबै कामका लागि स्कटल्यान्ड सरकारले ३०० रेपिड टेस्टिङ मेसिनहरु र ५ लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्ने भएको छ। – एजेन्सी