काठमान्डौ । सन् २०२२ का लागि अमेरिकाको डीभी (डाइभर्सन भिजा) चिठ्ठाको नतिजा हिजो शनिबार राति सार्वजनिक भएको छ। 

डीभी चिठ्ठाको नतिजा सार्वजनिक भएकोबारे अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको छ। फेसबुक पेजमा दिइएको जानकारीअनुसार  आवेदकले आफूलाई डीभी परे नपरेको अमेरिकी दूतावासको अफिसियल पेजमा गएर हेर्न सक्नेछन्।

नतिजा हेर्नका लागि डिभी भर्दा उपलब्ध गराइएको कन्फरमेसन नम्बर आवश्यक पर्छ। यदि कन्फरमेसन नम्बर हराएको छ भने आवेदकले आफ्नो जन्म मिति, नाम÷थर तथा ई–मेल आईडी थाहा भएमा कन्फरमेसन नम्बर त्यहीँ उपलब्ध हुनेछ। यसरी आवेदकले सहजै नतिजा हेर्न सक्नेछन्। 

अमेरिकी दूतावासका अनुसार डीभी परे नपरेको भनेर उसले कसैलाई ई–मेलबाट जानकारी गराउने छैन। यदि डीभी परेको भनेर ई–मेल आएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ। डीभीको नतिजा आफ्नो आधिकारिक वेबसाइटबाट मात्रै उपलब्ध रहेको दूतावासले स्पष्ट पारेको छ। 

यसका साथै छानिएका योग्य आवेदकका लागि त्यसपछिको प्रक्रियाका विषयमा सम्पूर्ण जानकारी वेबसाइटमै उपलब्ध रहेको पनि अमेरिकी दूतावासले जानकारी गराएको छ। 

तपाइँलाई डीभी पर्यो कि परेन यहाँबाट हेर्नुहोस् –

https://dvprogram.state.gov/