काठमाण्डौ । अमेरिकामा सन् २००७ पछि पहिलोपटक यिल्ड कर्भ तल झर्न थालेको छ, जसलाई हेर्दा लगानीकर्ताहरुका लागि यो नै सुनमा लगानी गर्ने सुवर्ण अवसर हो भन्न सकिन्छ । यिल्ड कर्भमा यस्तो परिवर्तन हुनुलाई विज्ञहरुले मन्दीको संकेतको रुपमा बुझ्छन् र यस्तो अनिश्चितताको समयमा सुन नै लगानीको उत्तम विकल्प बन्ने गर्छ । 

भारतका सुन व्यापार विज्ञ किशोर नार्नेलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार अमेरिकामा एक व्यापक आर्थिक सुस्तीको पूर्व संकेत देखिएको छ । साथै यिल्ड कर्भ पनि तलतर्फ मोडिएको छ । यसकारण अहिलेको समय सुनमा लगानी गर्ने सही समय हो । 

विज्ञहरुले अबको एक वर्षभित्र सुनको मूल्य निकै माथि पुग्ने प्रक्षेपण गरेका इकोनोमिक टाइम्सले जनाएको छ । 

बजार विश्लेषकहरुको तर्कलाई आधार मान्ने हो भने हाल नेपालमा ५१ हजार प्रति १० ग्रामको हाराहारीमा चलिरहेको सुनको भाउ एकवर्षमा बढेर ६१ हजारसम्म पुग्नसक्छ ।

विश्लेषकहरुको भनाईमा १० वर्षे अमेरिकी बण्डको रेट तीन महिनाको रेट भन्दा पनि कम भएसँगै विश्वको ठूलो अर्थव्यवस्थामा मन्दीको खतरा बढेको छ र यो हिसाबले पनि अब सुनमा लगानी आकर्षक क्षेत्र बन्नसक्छ ।

त्यसो त विगत केही समयदेखि भारत, नेपाल लगायतका बजारमा समेत सुनको मूल्य उक्लिरहेको छ । यसको मुख्य कारण डलरको भाउमा देखिएको निरन्तरको गिरावट हो । ब्रेग्जिटलाई लिएर देखिएको अनिश्चितताबाहेक वैश्विक अर्थव्यवस्थामै मन्दी आउनसक्ने डरका कारण पनि सुनमा पछिल्लो ३ सातादेखि लगानीको माग बढ्न थालेको बताइन्छ । 

गत साताको अमेरिकाको एक तथ्यांकलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार त्यहाँ उत्पादनमूलक सेक्टरको गतिविधि मार्चमा अप्रत्यासित रुपमा सुस्त बनेको छ । र, अर्थव्यवस्थाका अन्य क्षेत्रको विजिनेश समेत अपेक्षाकृत हुन सकिरहेको छैन । यसले ग्लोबल ग्रोथप्रति बढ्दो चिन्तालार्य संकेत गर्दछ ।

गत पाँच वर्षको अवधिमा विश्वका अधिकांश बजारमा हेर्दा सुनबाट कम रिटर्न आएका कारण र इक्वीटी मार्केटबाट बढी रिटर्न प्राप्त हुने अवस्था देखिएपछि कैयन लगानीकर्ताहरुले सुनमा लगानी गर्न छाडिसकेका थिए । सुनमा यो पाँच वर्षको अवधिमा खासै रिटर्न नआएको लगानीकर्ता बताउँछन् । बरु यो अवधिमा सेयर बजारबाट लगानीकर्ताले बढी रिटर्न लिएका छन् । तर, अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुको कुरा मान्ने हो भने आफ्नो कुल पोर्टफोलियोको ५ देखि १० प्रतिशत लगानी सुनमा पनि गर्नुपर्छ ।

अमेरिकाले हालै ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । यसको अर्थ हो त्यहाँको अर्थव्यवस्थामा केही सामान्य मन्दी सुरु भइसकेको छ । यस्तो समयमा सुनलाई लगानी पोर्टफोलियोमा समेट्न आवश्यक हुन्छ । 

कतिपय विज्ञहरुले त धेरै जोखिम लिन नसक्ने लगानीकर्ताले कमसेकम आगामी तीन महिनासम्मका लागि आफ्नो पोर्टफोलियोको १० प्रतिशत हिस्सा सुनमा लगानी गर्न सल्लाह दिइरहेका छन् । 

भारत लगायतका देशमा सुनमा लगानी गर्न चाहनेका लागि विभिन्न बण्डहरु विकल्पको रुपमा भए पनि नेपालमा त्यस्तो अवसर छैन । त्यसकारण लगानीकर्ताहरुले राम्रोसँग अध्ययन गरी थोरै भए पनि सुन खरीद गर्न सके, यसले केही महिनाभित्रै राम्रो रिटर्न दिनसक्ने देखिन्छ ।