काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएकाहरु अब विनामास्क भेटघाटमा सहभागी हुन सक्ने भएका छन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाइसकेका अमेरिकीहरु सामान्य जनजीवनमा फर्किन सक्ने गरी नयाँ स्वास्थ्य मापदण्ड तयार गरेको हो। उनीहरूले अरु खोप लगाइसकेका तथा केही नलगाएका व्यक्तिसँग पनि भेटघाट गर्न सक्ने नयाँ मापदण्डमा उल्लेख छ।

खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले जनाएको छ।

नयाँ मापदण्ड सोमबार ह्वाइटहाउसको कोरोनाभाइरस कार्यदल बैठकमा सार्वजनिक गरिएको थियो। जसअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीहरूले घरभित्र पूर्ण खोप लगाइसकेका अन्य व्यक्तिसँग मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्नेछन्। 

त्यस्तै घरभित्र खोप नलगाएका परिवारकै सदस्यसँग भेटघाट गर्न सक्छन् यदि ती व्यक्ति भाइरसको गम्भीर बिमारी हुने कम जोखिममा पर्छन्। कोभिड १९ भएका अरूसँग संसर्ग भए पनि यदि कुनै लक्षण देखा परेन भने परीक्षण वा क्वारेन्टिनमा बस्नु नपर्ने नयाँ मापदण्डमा उल्लेख छ। 

हालसम्म ३ करोड अमेरिकीले खोपको पूर्ण मात्रा लिइसकेका छन्। – एजेन्सी