काठमाण्डौ । अब अमेरिकामा कोभिडविरुद्धको खोप लगाउने व्यक्तिलाई १०० डलर दिइने भएको छ। 

संक्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई निर्देशन दिएका हुन्। नयाँ निर्देशिका जारी गर्दै राष्ट्रपति बाइडेनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरुका लागि न्यायसंगतजस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए। ‘यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ’, उनले भनेका छन्। 

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लानअन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन्। 

बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको संघीय सरकारले परिपूर्ति गरिदिने बताए। 

बाइडेनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन्। अमेरिकामा संघीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। संघीय सरकारका निकायहरुमा करिब २० लाख मानिस काम गर्छन्।

यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट निकालिने छैन।

ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो।

गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ। तर अमेरिकामा खोप लगाउने मात्रा क्षेत्रीय हिसाबले फरक–फरक छ।

आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसंख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीवार ह्वाइट हाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए। ‘उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। उनले भने, ‘मानिसहरूको मृत्यु भइरहेको छ र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुन सक्नेछ।’ – बीबीसीबाट