काठमाण्डौ । अमेरिकाले अफगानिस्तानलाई आर्थिक सहयोगका रुपमा ३०.८ करोड डलर दिने तयारी गरेको छ। 

अमेरिकाले सर्तसहित अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने तयारी गरेको हो। यसका लागि तालिबानले राहात कार्यमा संलग्न सबैलाई काम गर्ने पूर्ण स्वतन्त्रता दिनुपर्नेछ। 

ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नका अनुसार यो आर्थिक सहयोग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएड)का तर्फबाट मानवीय राहात पहुँच पुर्याउने स्वतन्त्र एजेन्सीहरुका माध्यमबाट दिइनेछ। अमेरिकाले स्वास्थ्य सेवा, जाडोमा आवश्यक वस्तु, खाद्यान्न र पानीका लागि आर्थिक सहयोग गर्न लागेको हो। 

योसँगै गत अक्टोबरपछि अमेरिकाले अफगानिस्तानलाई दिएको आर्थिक सहयोगको आँकडा ७८.२ करोड डलर पुग्नेछ। 

यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तान गहिरिँदै गएको मानवीय संकटलाई ध्यानमा राखेर ५ अर्ब डलरको आर्थिक सहयोग उपलब्ध गराउन विश्वभरका देशहरुलाई अपिल गरेको थियो। 

गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अमेरिकी आर्थिक सहयोग बन्द भएको थियो। यसका साथै थुप्रै आर्थिक प्रतिबन्ध पनि लगाइएको थियो। जसका कारण अफगानिस्तानमा अस्पताल, स्कुल र सरकारी निकायहरु चलाउन मुस्किल भएको छ। –एजेन्सी