काठमाण्डौ । वल्र्ड बैंकले हालै विश्वका १० धनी देशहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिको पहिलो नम्बरमा अमेरिका छ भने १० औं नम्बरमा अष्ट्रेलिया । हाम्रा दुईतर्फका छिमेकी देश भारत र चीन समेत विश्वका १० धनी देशमै पर्न सफल भएका छन् । 

रिपोर्ट अनुसार ४८ हजार ७ सय अर्ब डलरको कुल सम्पत्तिसहित संयुक्त राज्य अमेरिका पहिलो नम्बरमा परेको छ । 

उत्तरतर्फको हाम्रो छिमेकी चीन १७ हजार ३ सय अर्ब डलर सम्पत्तिसहित दोश्रो नम्बरमा पर्न सफल भएको छ । यसैगरी, १५ हजार २ सय अर्ब डलरसहित जापान तेश्रो, ९ हजार ४ सय डलरसहित जर्मनी चौथो ९ हजार २ सय अर्ब डलरसहित यूके पाँचौ धनी देश बन्न सफल भएका छन् । 

१० धनी देशमा ७ हजार ६ सय अर्ब डलरसहित फ्रान्स छैठौ, ५ हजार २ अर्ब डलर सम्पत्ति सहित भारत सातौ, ५ हजार अर्ब डलरसहित इटली ८ औं, ४ हजार ८ सय अर्ब डलरसहित क्यानडा नवौं र ४ हजार ५ सय अर्ब डलरसहित अस्ट्रेलिया १० औं धनी देश बन्न सफल भएका छन् । 

कसरी परे भारत र चीन ?
रिपोर्ट तयार गर्ने क्रममा एक व्यक्तिको कुल सम्पत्तिलाई जोडेर सो देशको सम्पत्ति भनिएको छ । यसमा सो व्यक्तिको दायीत्वलाई हटाएर बाँकी सबै कुराहरु(जस्तो नगद, इक्विटी, विजिनेश लगायत) सामेल गरिएको थियो । 

भारत सम्पत्तिमा ७ औ धनी देशमा गणना भए पनि त्यहाँको उच्च जनसंख्याको हिसाबले त्यहाँ नागरिक गरीब नै रहेका रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार विगत १५ वर्षको अवधिमा भारतले आफूलाई विकासको पथमा लम्काइरहेको छ । भारत विश्वका १० धनी देशमा सूचिकृत हुनु पछाडिको मुख्य कारण जनघनत्व नै हो । प्रति व्यक्ति आयको हिसाबले भारत विश्वकै गरीब देशको सूचिमा पर्छ । 

रिपोर्टका अनुसार विश्वका १० धनी देशमध्ये पछिल्लो १५ वर्षको अवधिमा चीनको आर्थिक वृद्धिदर तेज गतिमा भइरहेको छ ।