काठमाण्डौ । अमेरिकी डलरको भाउ (विनिमय दर) आज बुधबार पनि बढेको छ। 

कोरोना भाइरसको संक्रमणले विश्वका थुप्रै मुलुकको अर्थतन्त्र कमजोर भए पनि अमेरिकी अर्थतन्त्र सबल बनेपछि अमेरिकी डलरको भाउ दिनदिनै उचाइमा पुगिरहेको हो। नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरबराबर खरिद दर ११६.९८ रुपैयाँ र बिक्री दर ११७.५८ रुपैयाँ कायम गरेको छ । 

अमेरिकी डलरको बुधबारको दर १६ महिनायताकै उच्च हो। यसअघि सन् २०१८ नोभेम्बर १३ को दिन अमेरिकी डलरको खरीद दर ११६.३३ रुपैयाँ र बिक्री दर ११६.९३ रुपैयाँ रहेको थियो। पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने अमेरिकी डलरको भाउ फेब्रुअरी १९ देखि लगातार बढिरहेको छ। 

त्यसो त बुधबारको डलरको भाउ नेपाली बजारमा अहिलेसम्मकै दोस्रो उच्च दर हो। यसअघि सन् २०१८ अक्टोबर १० मा १ डलरको खरिद दर ११८.७३ रुपैयाँ र बिक्री दर ११९.३३ रुपैयाँ कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च हो। 

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ। 

डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिटान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा अझै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ। 

यस्तै देशले लिएको वैदेशिक ऋणको भार समेत डलरको भाउ बढ्दा बढ्छ।