काठमाण्डौ । राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) भित्र प्रवेश गरी डोनाल्ड ट्रम्प समर्थकले तोडफोडसँगै हिंसात्मक प्रदर्शन गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर हालसम्म ४ प्रदर्शनकारीको मृत्यु भइसकेको छ । 

हिंसा नियन्त्रणका लागि अहिले वासिङ्टनमा कर्फ्यु लगाइएको छ।

संसद भवनमा अमेरिकी कांग्रेसमा इलेक्ट्रोरल कलेजलाई लिएर बहस चलिरहेको थियो। त्यही क्रममा ट्रम्पका सयौँ समर्थक बाहिर भेला भएर प्रदर्शन सुरु गरेका थिए। केहीबेर प्रदर्शनकारीहरु संसद भवनभित्रै पसेर अमेरिकी राष्ट्रपति चुनाव रद्दको माग गर्दै नाराबाजी गर्न थालेपछि हिंसा भड्किएको थियो। 

प्रदर्शनकारीलाई रोक्न नेसनल गार्डस् हवाई फायर गर्दा एक महिलाको गोली लागेर मृत्यु भएको हो। प्रदर्शनकारीले झन्डै ३ घन्टासम्म त्यहाँ प्रदर्शन तथा तोडफोड मच्चाएका थिए। 

अहिले वासिङ्टन क्षेत्रमा कर्फ्यु लगाइएका कारण स्थिति नियन्त्रणमा रहेको त्यहाँ सुरक्षा अधिकारीहरुले बताएका छन्। यो घटनाको अहिले कडा आलोचना हुन थालेको छ। ट्रम्पले आफ्ना समर्थकलाई उक्साउँदा हिंसा भड्किएकोले उनले अब हिंसा अन्त्य गर्न तथा संविधानको रक्षा गर्न सार्वजनिक रुपमा अपिल गर्नुपर्ने आवाज उठेपछि उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै घर फर्किन र शान्ति कायम गर्न भनेका छन् । तर, सो क्रममा उनले चुनावको क्रममा आफ्नो मत चोरिएको आरोप समेत लगाएका छन् । यसलाई ट्रम्पले आगोमा घ्यू थप्ने काम गरेका भनी आलोचना हुन थालेको छ । 

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्। उनले ट्वीटमा लेखकी थिइन्, 'राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनस् दोहोर्याउँछौँ।'

ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्। तर जो बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित रहेको जानकारहरु बताउँछन्। 

हेरौं ट्रम्पका समर्थकले विश्वकै शक्तिशाली देशको संसद भवन क्षेत्रमा मच्चाएको बितण्डाका केही तस्विरहरु: