काठमाण्डौ । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री दर १२४.७३ रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च हो।

हिजो बिहीबार १ अमेरिकी डलरको बिक्री दर १२४.६८ रुपैयाँ तोकेको थियो। यसअघि जेठ ६ मा अमेरिकी डलरको भाउ १२४.६७ रुपैयाँ पुगेको थियो।

गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो।

पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ। केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ। 

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो। यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ। 

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा सकारात्मक प्रभाव पर्छ। रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ।