काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ। आज बिहीबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। 

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.१४ रुपैयाँ र खरिददर १३२.५४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो। 

यसअघि हिजो बुधबारको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०८ रुपैयाँ र खरिददर १३१.४८ रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो। यो हिसाबले आज डलरको भाउ एकैदिन १.०६ रुपैयाँले बढेको छ। 

महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको थियो। योसँगै डलर पनि विश्व बजारमा बलियो बन्दै गएको छ।

भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ। 

डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ। 

यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।