-प्रकाश बञ्जारा 
म  अहिले सयुक्त अरब इमिरेट्स युएईको दुवईमा छु । म रोजगारीका लागि खाडी आएको नेपालीको प्रतिनिधि एक पात्र हुँ । जो घरको वाध्यतालाई धान्नकै लागि देशमा लकडाउन भइरहँदा र राजधानीमा निषेधआज्ञा जारी भइरहँदा पनि हरियो पासपोर्ट देखाएर बालबालिकाको पेट सम्झिँदै देश छोडेर हिँडेको नागरिक हुँ । जतिबेला विदेशमा रहेका अन्य नेपाली दाजुभाईहरु देश कसरी फर्किने भनेर सोचिरहेका थिए र अहिले पनि कति बैदेशिक रोजगारमा रहेका नेपालीहरु मुलुक फर्किने सपना बोकेरै बसिरहेका छन् । 

म यहाँको एक पाँचतारे होटलका काम गर्छु । विश्वव्यापी महामारीको बेला मैले यो देशमा देखेका र आफैँले भोगेका केही अनुभव साट्न चाहेको छु ।

मलाई लाग्छ मेरो अनुभव केही न केही रुपमा देशका साना तथा ठूला व्यापारिक क्षेत्रमा सहयोगी बन्नसक्छ । यहाँ कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न के गरिएको छ, हामी के गर्दैर्छौ ?सरकारले के गर्दैछ ? जनताले कसरी सहयोगी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुराहरु मेरो अनुभवको आधारमा सेयर गर्नेछु । 

अहिले म कम्पनीले उपलव्ध गराएको क्वारेन्टाइनमा छु । मसँगै काम गर्ने सहकर्मीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि म कन्ट्याक्ट ट्रेसिङ्गमा परेर १४ दिनको आइसुलेसनमा बस्नु परेको हो । म बसेको देशमा पनि नेपालमा जस्तै दैनिक १ हजार , बाह्र सयको हाराहारीमा पोजेटिभ केस आउने गरेको छ । तर यहाँको चुस्तदुरुस्त व्यवस्थापन शैलीले कोरोना न्यूनिकरणमा ठूलो भूमिका खेलेको छ । त्यसो त युएई यस्तो देश हो जसले अहिलेसम्मै धेरै सँख्यामा पिसिआर टेस्ट गरेर नाम राखिसकेको छ । नागरिक अथवा यहाँ बसोबास गर्नेले अनुरोध गरेकै भरमा मोवाइल ल्याब्रोटरी लेखिएको गाडी नै पिसिआर टेष्टका लागि पठाइने गरेको छ । अरुले भनेजस्तो लथालिंग छैन यहाँको अवस्था । व्यापारहरु चलिरहेका छन् । अन्तराष्ट्रिय उडान चालु छ, उद्योगधन्दा सबै चलेका छन् सरकारलाई पब्लिक एरियामा माक्स अनिवार्य लगाउन भनेर उर्दी जारी गरेको छ । साथै सामाजिक दूरी पनि कायम गर्नुपर्छ । 

सवारी साधनमा नर्मलभन्दा ५० प्रतिशत कम यात्रु मात्र बोक्ने गरी मापदण्ड बनाइएको छ । सबै चलेकै छन् । मेट्रो रेल पनि चलेको छ, दैनिक हजारौले त्यो सेवा पनि लिएका छन् । होटल, सपिङ्ग मल सबै राम्ररी नै चलेका छन् । अन्तराष्ट्रिय पर्यटकको आगमन केही कम भएका कारण केही होटलहरु लकडाउन पछि खुलेका छैनन् । होटल, सपिङ्ग मलको प्रवेशद्वारमा थर्मल क्यामरा जडान गरिएका छन् र ठूलो स्क्रिन राखिएका छन् । थर्मल क्यामराले त्यो क्षेत्रमा प्रवेश गर्ने सबैको तापक्रम नाप्छ र सुरक्षित गर्छ । उच्च तापक्रम अर्थात ३७ दशमलव ३ भन्दा बढि तापक्रम भएका सेवाग्राहीलाई प्रवेश निषेध गरिएको छ । उनीहरुले तत्काल डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । 

यहाँको सरकारले हरेक व्यापारिक घरानालाई कोरोना न्यूनिकरणमा भूमिका खेलाएको छ । हरेक साना ठूला कम्पनीमा कन्ट्याक्ट ट्रेसरहरु नियुक्त भएका छन् । उनीहरुले आफ्नो कम्पनीको जिम्मा लिएका छन् र सिधै यहाँको स्वास्थ्य विभागसँग समन्वय गर्छन । हरेक सेवाग्राही र कर्मचारी सबैले पिपिई अर्थात पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट लगाएको हुनुपर्छ । होटलहरुले हरेक पाहुनालाई माक्स लगाउन अनुरोध गर्छन र पाहुनासँग नभए माक्स निशुल्क उपलव्ध गराउँछन् । 

बेला बेलामा सरकारी निकायबाट आउने चेकजाँचमा माक्स नलगाई पव्लिक एरियामा पाहुना भेटियो भने होटलले ठुलो रकमको जरिवाना तिर्नुपर्छ । यहाँ आफ्नो मान्छे ठाउँमा भएको आधारमा जरिवाना मिनाहा हुने चलन छैन । होटल रेस्टुरेन्ट खोल्न दिइएपनि बार भने खोल्न प्रतिबन्ध लगाइएको छ ।  

जिउ दुख्ने, ज्वरो आउने तथा अन्य कुनै कोरोनाको लक्षण भएमा कर्मचारीलाई काममा नआउन र तुरुन्त डाक्टरकोमा जान भनिएको हुन्छ । यदि कुनै पाहुनालाई अथवा कर्मचारीलाई कोरोना लागेको पुष्टि भएमा उनीहरु यहाँको सरकारको गाइडलाइनअन्तर्गत अनिवार्य क्वारेन्टाइन बस्नुपर्छ । 

क्वारेन्टाइनमा अलग्गै कोठा, अलग ट्वाइलेट वाथरुम, लगायतका सुविधा हुनुपर्ने छ । पाहुनालाई कोरोना पुष्टि भएमा सरकारले तोकेका होटल क्वारेन्टाइन स्थानान्तरण गरिन्छ, त्यो पनि सरकारकै निगरानीमा । पाहुना तथा कर्मचारी जोकोही पनि कोरोनाको बिरामी भएको दिनदेखि ३ दिन पहिले देखिको कन्ट्याक्ट ट्रेसिङ्ग गरिन्छ । यहाँको स्वास्थ्य बिभागले तोकेको कन्ट्याक्ट ट्रेसरले आफ्नो कर्मचारीको अवस्था के कस्तो छ ? देनिक कत्तिको सुधार भइरहेको छ भनेर अपडेट दिइरहनु पर्छ । कन्ट्याक्ट ट्रेसिङ्ग चाहिँ सुरक्षा सावधानी नपअनाएको, १५ मिनेटभन्दा बढी फेस टु फेस वार्तालाप गरेको, कोठा तथा बेड सेयर गरेर बस्ने तथा एउटै कोठाभित्र बस्ने स्टाफ कर्मचारी आउने गर्दछन् । 

यसरी बस्ने सबैले १४ दिन क्वारेन्टाइन बस्नुपर्छ भने । सुरक्षा सावधानिका साथ सामान्य भेट गर्नेहरुको हकमा भने उनिहरुलाई आफ्नो स्वास्थ्यलाई नजिकैबाट नियाल्न र सावधानिका साथ बस्न अनुरोध गरिन्छ । 

यो देशलाई पनि विश्वव्यापी महामारीमा निकै ठुलो मार पर्यो । यही सालका लागि तोकिएको विश्वव्यापी एक्स्पो २०२० का लागि यो देशको एक प्रान्त दुवईले अर्बौ डलर खर्च गरेको थियो । तर कोभिड १९ कै कारण त्यो एक्स्पो अर्थात विश्वव्यापी मेला एकसालका लागि पर सारिएको छ । तर युएईले कोभिडबाट ग्रस्त भएको त्यत्ति ठूलो महसुस गर्न परेको छैन । मैले अघि भनेझैँ यो महामारीबाट अछुतो त कोही पनि रहन सकेको छैन, तथापि जुन रुपमा युरोपियन देशहरुले क्षति व्यहोेरेका छन् त्यो रुपमा युएईले क्षति व्यहोर्न परेन । हो सानादेखि ठूला व्यापार व्यवसाय धारासायी भए । २/३ महिना लकडाउन हँदा कति त उठ्न नसक्ने गरी लडेका छन्, तर सरकारले उनीहरुलाई उठ्न साहस र हौसला उत्तिकै दिएको छ । 

लकडाउनका कारण भिषा थप गर्न नपाएकाहरुलाई छुट दिएको छ उनीहरु अहिले भटाभट भिषा नवीकरण गरिरहेका छन् । निश्चित मापदण्ड अपनाएर सबै व्यापार व्यावसाय खुलाइएका छन् । हामी पनि यसैगरी विदेशीहरुले अपनाएको जस्तै तरिका अपनाउँ । नागरिक पनि सजग बनौं । घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा माक्सको प्रयोग गरौँ । सामाजिक दूरी कायम राखौँ । अनावश्यक भिडभाड नगरौँ । व्यापार व्यावसायमा पनि केही नयाँ प्रयोगहरु गरौँ । कोरोनासँग लड्न सबै एकजुट होऔँ ।