काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज भदौ ३१ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.५ प्रतिशत अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ।

दुवै प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट लगेर अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ। 

यसैबीच सोही बैठकले कम्पनीको २४ औँ वार्षिक साधारणसभा आउँदो असोज २४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १० गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।