काठमाण्डौ । राष्ट्रियस्तरका सबै ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
चालु आर्थिक वर्षको ६ महिनाको मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको वित्तीय प्रदर्शनका आधारमा यी बैंकले अर्को वर्ष बाँड्न सक्ने लाभांशको प्रक्षेपण गर्ने कोसिस गरेका हौँ। अहिलेकै अनुपातमा वितरणयोग्य मुनाफा बाँकी ६ महिनामा वृद्धि भएमा हाल कायम चुक्तापुँजीका आधारमा यी बैंकहरुको लाभांश क्षमता अनुमान गरिएको छ।
दोस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफाका आधारमा गरिमा अगाडि देखिएको छ। यो बैंकले दोस्रो त्रैमाससम्म ३५ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यदि यही अनुपातमा बढ्दै जाने हो भने चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ७१ करोड २२ लाख रुपैयाँ हुने देखिन्छ। बैंकको चुक्तापुँजी ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। यो हिसाबमा गरिमाले १८ प्रतिशत बढी नै लाभांश वितरण गर्न सक्ने क्षमता बनाउनेछ।
यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा २७ करोड ५० लाख रुपैयाँ वितरणयोग्य मुनाफासहित महालक्ष्मी दोस्रो स्थानमा छ। यही गतिमा चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा हुने हो भने यो बैंकको ५५ करोड रुपैयाँ हुने देखिन्छ। यदि अन्तिम त्रैमाससम्म यो बैंकको वितरणयोग्य ५५ करोड हुन्छ भने चुक्तापुँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको यो बैंकले १६ प्रतिशत बढी नै लाभांश वितरण गर्न सक्ने क्षमता बनाउने देखिन्छ।
यो अवधिसम्म लुम्बिनीको २४ करोड ९४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेछ। यदि अन्तिम त्रैमाससम्म लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा झन्डै ५० करोड रुपैयाँ हुनेछ भने यो बैंकले १५ प्रतिशत बढी नै लाभांश वितरण गर्न सक्ने देखिन्छ। लुम्बिनीको हाल चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ।
दोस्रो त्रैमासम्म मुक्तिनाथको २२ करोड २१ लाख रुपैयाँ, त्यसैगरी शाइन रेसुंगाको २१ करोड ८० लाख रुपैयाँ, सांग्रिलाको १८ करोड ४ लाख रुपैयाँ, ज्योति विकास बैंकको १० करोड ५० लाख रुपैयाँ र कामना सेवा विकास बैंकको ९ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। यही अनुपातमा बढ्दै जाने हो भने मुक्तिनाथले ८ प्रतिशतको हाराहारीमा, कामना सेवाले ६ प्रतिशत बढी, ज्योतिले झन्डै ५ प्रतिशत, शाइन रेसुंगाले ११ प्रतिशत बढी र सांग्रिलाले झन्डै १२ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता बनाउने अनुमान गर्न सकिन्छ।
हाल मुक्तिनाथको चुक्तापुँजी ५ अर्ब ६५ करोड रुपैयाँ, कामना सेवाको ३ अर्ब १४ करोड रुपैयाँ, ज्योतिको ४ अर्ब २६ करोड रुपैयाँ, शाइन रेसुंगाको ३ अर्ब ७८ करोड रुपैयाँ र सांग्रिलाको ३ अर्ब १ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ।
5 minutes ago
33 minutes ago
51 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago