काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ ६१.८८ प्रतिशतले नाफा बढाएको छ । 

यो अवधिमा लक्ष्मी बैंकले ६७ करोड ३७ लाख खूद मुनाफा आर्जन गरेको हो । यो बैंकले आर्थिक वर्ष २०७१ ७२ मा ४१ करोड ६१ लाख खूद नाफा आर्जन गरेको थियो । 

बैंकले आब. ०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ । आब ०७१/७२ मा बैैंकले ४० अर्ब निक्षेप संकलन गरी ३१ अर्ब कर्जा प्रवाह गरेको थियो । 

बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो आबमा ९५ करोड ९५ लाखमा सीमित खूद ब्याज आम्दानी आब २०७२/७३ मा बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । 

बैंकले संचालन मुनाफा समेत बढाएको छ । ६० करोडमा सीमित संचालन मुनाफा बढाएर ९६ करोड पुर्याएको छ । यो बैंकको हाल चुक्तापूँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ र सरप्लस २ अर्ब ६० करोड रुपैयाँको छ । बैंकको प्रतिसेयर आम्दानी २२.१७ र प्रति सेयर नेटवर्थ १८५.७७ रुपैयाँ रहेको छ । बैंकको सेयरको मार्केट भ्यालू ८७६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ३९.५१ रहेको छ, यो राम्रो संकेत होइन । 

बैंकले निस्क्रिय कर्जा दरलाई भने केही घटाएको छ । १.३० प्रतिशत रहेको निस्क्रिय कर्जा ०.८० प्रतिशतमा झरेको हो ।