काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक अलटाइम हाई रेकर्ड ब्रेक गर्दै नयाँ उचाइमा पुगेको छ। 

नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ को विन्दुमा उक्लिएको हो। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इक्डेक्स पनि ४.६४ अंकले बढेर ४९७.२२ को उचाइमा पुगेको छ।

आज कारोबार रकमले पनि नयाँ कीर्तिमान कायम गरेको छ। आज एकैदिन सवा ११ अर्ब रुपैयाँको कारोबार भएर नयाँ कीर्तिमान कायम गरेको हो। यसअघि गत माघ २६ गते साढे १० अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे आज परिसूचकसँगै कारोबार रकममा रेकर्ड ब्रेक भएकोले बजार निकै सकारात्मक रहेको मान्नुपर्ने बताउँछन्। ‘बजारको मुभमेन्ट राम्रो छ’, उनले भने, ‘बुलिस बजार सानातिना करेक्सनका साथ अब अगाडि नै बढ्ने हो।’

बैंकको आधार दर घट्नु, सेयर धितो कर्जा सहज रुपमा उपलब्ध हुनुलगायतका कारणले बजार सकारात्मक बनेको घिमिरेको ठहर छ। ‘बैंक ब्याजदर अझै ३–४ महिना बढ्ने सम्भावना छैन’, उनले भने, ‘यसले सेयर बजारलाई सकारात्मक प्रभाव पार्छ।’

अझै पनि ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको घिमिरेको तर्क छ। ‘किनकि बजार स्थिर ढंगले अगाडि बढिरहेको छ’, उनले भने। 

राम्रा र बलिया कम्पनीका आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्न घिमिरे सुझाव दिन्छन्। 

सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी राजनीति सकारात्मक बन्दै गएकोले लगानीकर्तामा आत्मबल बढ्दा बजारले गति लिएको बताउँछन्। ‘बजार बुलिस ट्रेन्डमै छ’, उनले भने, ‘प्राविधिले पनि नेपालको सेयर बजारलाई साथ दिएको छ। लगानीकर्ताहरुले यस्तो परिस्थितिमा घरमै बसेर सेयर खरिदबिक्री गर्न पाएका छन्।’

आजको कारोबारलाई स्वाभाविक भन्दै अधिकारीले आगामी दिन कारोबार अझै बढ्न सक्ने बताए। ‘अन्य क्षेत्र ठप्पप्रायः छन्, खुलेको भनेको सेयर बजार नै हो’, उनले भने, ‘त्यसैले जति लगानी भित्रिन्छ, उत्ति नै कारोबार बढ्ने हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक २०४.१४ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २००.१८ अंकले बढेको आज बैंकिङ समूहमा ४.७१ अंक, व्यापार समूहमा ७६.८ अंक, विकास बैंक समूहमा १००.४६ अंक, जलविद्युत समूहमा ९६.९८ अंक, वित्त समूहमा ८०.५५ अंक, निर्जीवन बीमा समूहमा ८१.०७ अंक, अन्य समूहमा १६.५१ अंक, लघुवित्त समूहमा ८५.४१ अंक, म्युचुअल फन्ड समूहमा ०.०६ अंक र लगानी समूहमा २.८५ अंकको बढोत्तरी भएको छ। 

आज उत्पादन तथा प्रशोधन समूहमा ५.२८ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ३१ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ३१ करोड ४३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको ३० करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोषको २७ करोड ६६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २७ करोड ६१ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको २० करोड ८१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको १९ करोड ६३ लाख रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको १८ करोड ९६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १८ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमाल दोलखा हाइड्रोपावर, समता घरेलु लघुवित्त, नेसनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, सोल्टी होटेल, ओरियन्टल होटेल, कालिका पावर विशाल बजार कम्पनी, बेस्ट फाइनान्स, महिला लघुवित्त र घलेम्दी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ। 

यसैगरी तारागाउँ रिजेन्सी होटेल, नेपाल फाइनान्स, राधी विद्युत, नेपाल हाइड्रो, रुरु जलविद्युत, युनाइटेड इदी मर्दी, युनिभर्सल पावर, बुटवल पावर, प्रोग्रेसिभ फाइनान्स, सिनर्जी पावर, रिडी हाइड्रोपावर, गुडविल फाइनान्स, मल्टीपर्पस फिनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जानकी फाइनान्स, आँखुखोला जलविद्युत, पञ्चकन्या माई हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज नेपाल टेलिकम र माथिल्लो तामाकोशीको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।