काठमाण्डौ । नेपाल राष्ट्र बैंकले असर्फीको दैनिक बिक्री मूल्य निर्धारणमा संशोधन गरेको छ।

राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्दै असर्फीको दैनिक बिक्री मूल्यमा निर्धारण गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले कार्यविधिबमोजिम गणना गरिएका आधारमा मूल्यमा टकमरी गर्दाको जर्तीलगायतको लागतबापत प्रतिगाम ३०० रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गर्न निर्देशन दिएको छ। यसअघि यस्तो लागत रकम २०० रुपैयाँ रहेको थियो। 

तर, सर्वसाधारणबाहेक नेपाल सरकारका निकायहरु वा निजी तथा सार्वजनिक संघसंस्थाहरुबाट असर्फी खरिदका लागि माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा बिक्री गर्न सकिने व्यवस्था छ। यसरी बिक्री गर्दा आधारमूल्यमा जर्तीलगायतको लागतबापत प्रतिग्राम ५०० रुपैयाँ थप गरी बिक्रीमूल्य निर्धारण गर्न पनि राष्ट्रले व्यवस्था गरेको छ। यसअघि यस्तो लागत रकम ३०० रुपैयाँ रहेको थियो।