काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बिक्री खुल्ला गर्न लागेको ४० प्रतिशत हकप्रदका लागि असार २७ गतेलाई बुक क्लोजको मिति तोकेको छ। 

मंगलबार यो बैंक एक सूचना प्रकाशित गर्दै असार २७ लाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ असार २६ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र ४० प्रतिशत हकप्रद खरीदका लागि योग्य हुनेछन् । 

देशकै कान्छो यो वाणिज्य बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता सेयर बिक्रीका लागि खुल्ला गर्नेछ ।

सेञ्चुरीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमीटेडले गर्नेछ । 

यो बैंकले हालै इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई मर्जर गरेको थियो । मर्जरपछिको चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया जारी छ । बैंकका अनुसार हालै मर्जर सम्पन्न भएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । पाँचवटै संस्था मर्जर तथा ४० प्रतिशत हकप्रद समेत बिक्री गरेपछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ ।