काठमाण्डौ । मेगा बैंक लिमीटेडले आगामी असार २९ गते आफ्नो ७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले काठमाण्डौको प्रदर्शनीमार्ग स्थित राष्टियसभा गृहमा असार २९ गते शुक्रबार वार्षिक साधारणसभा आह्वान गरेको हो । 

बैंकको जेठ २९ गते बसेको संचालक समितिको २२१ औं बैठकले साधारणसभाको मिति तय गरेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

साबिकको टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेपछि बैंकले केही दिनअघि यसअघि प्रस्तावित साबिकका दुवै बैंकको बोनस दर खारेज गर्दै मर्जरपछि कायम ८ अर्ब २८ करोड ६८ लाख चुक्तापूँजीको १०.७५३९ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गर्नेछ ।

साधारणसभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी साढे ११ अर्ब पुर्याउने विशेष प्रस्ताव समेत पेश हुनेछ । बैंकले अन्य बैंक तथा बित्तीय संस्थालाई गाभ्न सकिने प्रस्तावलाई समेत साधारणसभाबाट पारित गराउनेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि असार १४ लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असार १३ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले साधारणसभामा सहभागी हुन, घोषित बोनस सेयर पाउनेछन् ।

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५२ करोड ४९ लाख बढी खूद नाफा आर्जन गरेको छ । बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ ।