काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आवश्यक चुक्तापूँजी पुर्याएर समेत मर्जरको बाटो रोजेको सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंकले ‘जनता बैंक लिमीटेड’को नाममा एकीकृत बित्तीय कारोबार असार ३० गतेदेखि थाल्ने भएका छन् । 

राष्ट्रबैंकले यी दुुई संस्थाको मर्जरलाई असार २५ गते अन्तिम स्वीकृति दिएको थियो । सबै आन्तरिक तयारी पूरा गरी राष्ट्रबैंकको स्वीकृतिको प्रतिक्षामा रहेका यी दुुई संस्थाहरु मर्ज भई बन्ने जनता बैंक एक सवल वाणिज्य बैंकको रुपमा उदाउन लागेको हो । 

जनता बैंक लिमीटेडले सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ सेयर स्वाप रेसियोको आधारमा प्राप्ति गर्न लागेको हो । यसको अर्थ हालको जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका सेयरधनीले ३० गतेपछि उदय हुने जनता बैंकको समेत साबिकमा जति कित्ता छ, उति नै संख्यामा सेयर पाउनेछन् । दुवै बैंकको जेठ दोश्रो साता सम्पन्न विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

एकीकृत बित्तीय कारोबारका लागि सिस्टम मर्मत तथा अन्य प्राविधिक व्यवस्थापनका लागि असार २९ गते दुवै बैंक बन्द हुने बताइएको छ । 

सिद्धार्थ डेभलपमेन्ट बैंकले मर्जरको सम्झौतापछि पनि सेयरधनीलाई ६० प्रतिशतको दरले हकप्रद बिक्री गरेको थियो । हकप्रदपछि यो विकास बैंकको चुक्तापूँजी २ अर्ब २७  करोड रुपैयाँ रहेको छ । यो विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २८ करोड ८३ लाख खूद नाफा आर्जन गरेको थियो । 

यस्तै, जनता बैंकको हाल चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३८ करोड १८ लाख खूद नाफा आर्जन गरेको थियो । 

दुवै बैंकको मर्जरपछि बन्ने जनता बैंक लिमीटेडको कुल चुक्तापुँजी ६ अर्ब ९ करोडको हाराहारीमा हुनेछ ।