काठमाण्डौ । एनबी इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि आफ्ना सेयरधनीका लागि १ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । 

बिहीबार यो कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ५ गतेदेखि हकप्रदको बिक्री खुल्ला हुने र सेयरधनीले साउन ९ गतेसम्म आवेदन दिनसक्ने बताएको हो । 

एनबी इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख कित्ता हकप्रद बिक्री खुल्ला गर्न लागेको हो । 

सतप्रतिशत हकप्रदका लागि कम्पनीले आगामी जेठ ४ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ जेठ ३ गतेभित्र यो इन्स्योरेन्सको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौको जमलस्थित ग्लोबल आइएमई क्यापिटल लिमीटेडको मुख्य कार्यालय र एनबी इन्स्योरेन्सको सबै शाखा कार्यालयबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइनेछ । 

हकप्रदको पूँजीकरणपछि एनबी इन्स्योरेन्सको चुक्तापूँजी ५४ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६ करोड २० लाख खूद नाफा आर्जन गरेको छ।