काठमाण्डौ । असोजमा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् । 

सीडी रेसियो तोकिएको सीमाभन्दा बढी हुने बैंकले समेत राष्ट्रबैंकबाट सापटी ल्याएर समेत कर्जा प्रवाहमा ध्यान दिंदा निक्षेपको तुलनामा कर्जा प्रवाह बढी देखिएको हो । 

बैंकहरुले असोजमा ९७.६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६.२२ अर्ब बढी कर्जा परिचालन गरेका छन् । निक्षेपको वृद्धि भनेर देखाइएको अंक अर्गानिक नभएको र नक्कली निक्षेपको हिस्सा बढी भएकोले ९७.६५ अर्ब अर्गानिक नहुनसक्छ । यो हिसाबले समेत बैंकहरुमा थोरै निक्षेप आउँदा समेत लोन भने आक्रामक रुपले प्रवाह भएको देखिएको छ । 

पछिल्लो एक साताको तुलना गर्दा पनि बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा प्रवाहको आकार ठूलो छ । असोज २२ गतेको तुलनामा असोज अन्तिम साता बैंकहरुको निक्षेप संकलन १३ अर्ब ६५ करोड रहेको छ, जब कि सोही अवधिमा कर्जा भने १५ अर्ब २२ करोडले बढेको छ । 

भदौ महिनामा बैंकहरुले ४८ अर्बले निक्षेप बढाउँदा १ खर्ब ८ अर्बले कर्जा बढाएका थिए ।