काठमाण्डौ । सरकारले खाडी मुलुकहरु कतार, कुवेत र साउदीमा आउँदो अक्टोबर १ (असोज १५ गते) देखि नियमित उडान गर्ने भएको छ। 

अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले यी खाडी मुलुकहरुमा नियमित उडान खोल्ने जानकारी दिएको छ। यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिएन।

अक्टोबरका २५ दिनका लागि सातामा कुल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ। दैनिक १३ देखि १५ उडानले अक्टोबरका लागि अनुमति दिइएको छ। थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

कुवेतका लागि जजिरा एयरवेज र रियादबाट हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ल्याउनेछ।

मन्त्रालयका अनुसार सेप्टेम्बरको तुलनामा उडान संख्या थप गरिएको छ। 

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले कात्तिक १ गते (अक्टोर १७) देखि विदेशी पर्यटकका लागि नेपाल खुला गरिने बताएका छन्। 

नेपाल उद्योग परिसंघले आयोजना गरेको भर्चुअल छलफलका क्रममा सोमबार मन्त्री भट्टराईले विदेशी पर्यटक ल्याउन अनअराइभल भिसा खोल्न लागिएको जानकारी दिएका हुन्। ‘कोरोनाको त्रास विस्तार कम हुँदै गएको छ, परिस्थिति सहज बनेको छ’, उनले भने, ‘अब कात्तिक १ गतेबाट विदेशी पर्यटकका लागि नेपाल खुला गरिनेछ।’