काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये १० वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरिसकेका छन्। 

अहिलेसम्म जलविद्युत कम्पनीहरुले घोषणा गरेका लाभांशमा ५ प्रतिशतदेखि ४२ प्रतिशतसम्म छन्। जसअनुसार रिडी पावरले सर्वाधिक ४२.१ प्रतिशत लाभांश घोषणा गरेको छ। यो कम्पनीले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश वितरणार्थ कम्पनीले बुक क्लोजको मिति तय गरिसकेको छैन। 

यसैगरी अहिलेसम्म चिलिमे जलविद्युत दोस्रो धेरै लाभांश घोषणा गर्ने कम्पनी रहेको छ। यो कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यसैगरी १० प्रतिशत बढी लाभांश दिनेमा युनाइटेड इदी मर्दी, माउन्टेन इनर्जी रुरु जलविद्युत र अरुण काबेली पावर छन्। यी सबैले समान कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। जसअनुसार युनाइटेड इदी मर्दी र माउन्टेन इनर्जीले नगद लाभांशमात्रै तथा रुरु जलविद्युत र अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६ प्रतिशत नगद लाभांश छन्। यीमध्ये माउन्टेन इनर्जीले यही मंसिर २७ गते बुक क्लोज गर्दैछ भने बाँकी सबैको बुक क्लोज भइसकेको छ। 

यसैगरी अरुण भ्याली हाइड्रोपावरले ८.४२१ प्रतिशत लाभांश (८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद), पाँचथर पावर ७ प्रतिशत नगद लाभांश, नेपाल हाइड्रो डेभलपर्सले ५.०२६ प्रतिशत लाभांश (५ प्रतिशत बोनस र ०.०२६ नगद) र सानिमा माई हाइड्रोपावरले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। यीमध्ये  अरुण भ्याली, नेपाल हाइड्रो र पाँचथर पावरको बुक क्लोजको मिति तय भइसकेको छैन भने सानिमा माई हाइड्रोको बुक क्लोज भइसकेको छ।