-हेमन्त बस्याल
हाल नेपालको पूँजीबजार बिगत दुईबर्षकै न्यून बिन्दुमा ओर्लेको छ । बजारमा चरम कर्जा संकट छ । भुक्तानी सन्तुलन नकारात्मक छ । कारण जेसुकै भए पनि आम लगानीकर्ता हाल पेनिक अवस्थामा छन् । भुक्तानी सन्तुलन नकारात्मक हुनुको पछाडि नेपाल बायूसेवा निगमको बिमान खरिदबापतको भूक्तानी, बिदेशी लगानी रहेका कम्पनीको लगानी प्रतिफल बापतको भुक्तानी आदि कारण रहेका छन् र यसले तरलतामा प्रत्यक्ष प्रभाव पारेको छ भने सरकारी बजेट खर्चमा आएको कमीका कारण समग्र बित्तिय बजारमा पेनिक अवस्था सिर्जना भएको छ । परिणामस्वरुप पूँजीबजारलाई समेत यसले नकारात्मक असर पारेको छ । बजारमा नकारात्मक मनोभावले आम लगानीकर्ताहरुलाई आक्रान्त पारेको पाईन्छ । यस्तो अवस्थामा बजार आधारभूत तहभन्दा तल पुगेको छ । आम लगानीकर्ताको मनोभाब नकारात्मक छ, जसले बजारलाई अण्डरभ्यालुड बनाएको छ, यो बेला कन्ट्रारियन(विरोधाभास)लागानीकर्ताका लागि बजारले प्रदान गर्ने लगानीको उपयुक्त समय पनि हो ।

विरोधाभास लागानी नीति त्यस्तो नीति हो,जसमा आम लगानीकर्ताहरुले आमभन्दा ठीक उल्टो लगानीसम्बन्धी व्यवहार देखाउँछन् । जब बजारमा आम लगानीकर्ताहरु निराशको हद पार गरी बजार अझै घट्छ भनी थप बिक्री गर्न चाहान्छन् उनीहरु त्यसको ठीक विपरीतकोे लगानी व्यवहार देखाई खरिद गर्न थाल्छन् भने जब बजारमा आम लगानीकर्ताहरुको मास सेण्टिमेण्ट पोजेटिभ हुन्छ, तब त्यसको ठीक विपरीत उनीहरु बिक्री गर्न थाल्दछन् ।

साधारणतया प्राबिधिक विश्लेषणको लगानी नीति पनि सोही बमोजिमको हुने गर्दछ । कन्ट्रारियन लगानीकर्ताको विश्वास के हुन्छ भने आम लगानीकर्ताहरु(जो हल्लाको भरमा लगानी गर्दछन) ती लगानीकर्ताको हल्लाले देखाउने लगानी सम्बन्धी व्यवहारले बजार मूल्यमा उल्लेख प्रभाव पार्दछ, जसले धितोपत्रको मूल्यलाई मिसप्राइसिङ्ग गर्दछ । बजारमा गर्ने आम लगानीकर्ताभन्दा फरक लगानीको व्यवहारले औसतभन्दा बढी प्रतिफल पाउन सकिन्छ । 

विगत २ वर्षको बजारको अवस्थालाई हेर्दा जब बजार १७०० अंकभन्दा माथि गयो, त्यतिबेला आम लगानीकर्ताहरुको व्यबहार हेर्दा बजार अब २००० देखि २५०० सम्मको बिन्दु तय गर्छ भन्ने आम मानसिकता हाबी भयो । अब बजार कहिल्यै घट्दैन अथवा बजारको बुल रेस सकिएको छैन भन्ने मानसिकता हाबी थियो । बजार १८०० देखि माथि पुगेको अवस्थामा बजारमा जति शेयर बिक्रिको लागि आए पनि खरिद हुने अवस्था थियो । त्यो समयमा कन्ट्रारियन लगानीकर्ताले शेयर बिक्री गरे । ६ महिनाको अन्तरालमा बजारमा नकारात्मक मनोभाव यसरी हाबी भयो कि बजार ८०० को मूल्यमा पुग्छ भनेर हल्ला आउन थाल्यो, त्यो समय कन्ट्रारियन लगानीकर्ता बजार प्रबेशको उत्तम समय थियो, जति बेला बजार १२५० को बिन्दुमा थियो । तर, गत वर्ष कन्ट्रारियनहरुले बजारमा उल्लेख्य लगानी गर्न पाएनन्, कारण न्यून बिन्दुमा कारोबार अत्यन्तै कम थियो । जब बजारमा उनीहरु प्रबेश गर्न थाले, बजारले छुट्टै गति लियो । बजारमा भएको मिस प्राइसिङ्ग तुरुन्त बजारबाट गायब भयो । जो जसले सो समयमा बजारमा लगानी थप गरे उनीहरुले बजारबाट मनग्य प्रतिफल प्राप्त गर्न सफल भए । 

साधारणतया कन्ट्रारियनहरु बजारको आम लगानीकर्ताको मनोभाबको त्यस्तो अबस्थासम्म पर्खन्छन्, जतिबेला बजारमा आउने कुनै कम्पनीको सकारात्मक वा नकारात्मक सूचनाले कुनै महत्व राख्दैन । जब बजार नकारात्मक सेन्टिमेण्टलले दुषित हुन्छ, तब उनीहरु आफ्नो लगानीको र्निणय लिन्छन र बजार प्रवेश गर्दछन । जब–जब बजार सकारात्मक आम मनोभावले ग्रसित हुन्छ र बजार आधारभूत पक्षबाट ओभरभ्यालुड हुन्छ, तब उनीहरु बजारमा धितोपत्र बिक्री गरी नगद वा सरकारी ऋणपत्रमा आफ्नो लगानी डाईभर्ट गर्दछन् । कन्ट्रारियन आम लगानीकर्ता भन्दा मूर्ख देखिन्छन्, तर उनीहरुले आफूलाई भने सही सावित गर्नुपर्ने हुन्छ । उनीहरु खासमा मूर्ख होईनन् तर अल्पकालमा आम लगानीकर्ताहरुको नजरमा भने मूर्ख जस्तो लाग्दछन । आम लगानीकर्ताहरुको मनोभावभन्दा फरक सोंच राख्ने हुँदा यदि उनीहरु चुस्त अध्ययनबिना आएका छन् भने जोखिमको मात्रा अरु थप हुन्छ । जसको कारण उनीहरुको प्रतिफल पनि नकारात्मक हुनसक्छ । 

हाल कन्ट्रारियन ईन्भेष्टमेण्टमा ईन्ट्रान्जिक भ्यालु कन्ट्रारियनको नविनतम सुरुवात भएको पाईन्छ । साधारणतया कन्ट्रारियन लगानीकर्ताले बजारमा आम लगानीकर्ताले देखाउने आम व्यवहार भन्दा फरक लगानी व्यावहार देखाउँछन । जुन प्राविधिक विश्लेषणको आधारमा हुुुन्छ । तर, हालको नेपालको पुँजी बजारको अवस्थामा औसतभन्दा बढी प्रतिफल प्राप्त गर्न कन्ट्रारियन व्यबहारकोसाथै लगानी गर्न कम्पनीको ईन्ट्रान्जिक भ्यालुको आधारमा लगानी गर्दा औसतभन्दा कम जोखिममा औसतभन्दा बढी प्रतिफल प्राप्त हुनसक्छ । कन्ट्रारियन ईन्ट्रान्जिक भ्यालु ईन्भेष्टिङ्गमा औसतभन्दा बढी प्रतिफल प्राप्त गर्न तपाई आम लगानीकर्ताको व्यबहारभन्दा फरक व्यबहार देखाउनुपर्दछ । यसलाई गेम थ्योरिको  बिषमताको रुपमा पनि लिन सकिन्छ । यसमा लगानीकर्ताले आम लगानीकर्ताले भन्दा फरक तरिकाले सोचेर आम लगानीकर्ताले भन्दा पहिल्यै सही कुराको पहिचान गरी उनीहरुले लगानी गर्नुभन्दा पहिल्यै ती शेयरहरुमा लगानी गर्दछन्, ताकि आम लगानीकर्ताले सो कुरा महसुस गर्नु भन्दा पहिले प्रतिफल आफ्नो पोल्टोमा पार्दछन । यदि सो कदम गलत भयो भने लस थोरै हुन्छ, तर सही हुँदा हँुदै पनि आम लगानीकर्ताले सो कुरा महसुस भैसकेपछि सो कुराको आधारमा गरिएको लगानीमा थप प्रतिफल प्राप्त नहुन सक्छ । यस्तो लगानी रणनीति अबलम्बन गर्दा लगानीको निर्णय सही हुनुपर्दछ । र, सो सही निर्णयलाई स्थापित गर्न आम लगानीकर्ताहरुलाई उनीहरुको लगानी व्यबहार गलत प्रमाणित गर्न सक्नुपर्दछ ।

बजारले सधै सही निर्णयलाई पुरस्कृत गर्दछ न कि आम लगानीकर्ता वा तपाईलाई । तसर्थ तपाईको हरेक लगानी सम्बन्धी निर्णय सुझबुझपूर्ण हुन आवश्यक छ । यदि गलत साबित भयो वा सुझबुझपूर्ण निर्णय भएन भने त्यसको दण्ड समेत कठोर हुन्छ । यस्तो अवस्थामा विविधिकरणयुक्त खोजको प्रतिफल स्वरुप हामी फरक निर्णयमा पुग्न सक्छौ, जुन आम लगानीकर्ताको खोजभन्दा फरक हुन्छ । फलतः धितोपत्रको मूल्य फरक पत्ता लगाउन सकिन्छ । लगानीको व्यबहारमा लगानीमा प्रतिफल प्राप्त गर्नु वा घाटाबाट बच्नु त्यति नै महत्वपूर्ण कुरा हो । तसर्थ कन्ट्रारियन ईन्ट्रान्जिक भ्यालु ईन्भेष्टरले सम्भाव्य घाटालाई कम गरी सम्भाव्य थप प्रतिफलको खोजी गर्ने गर्दछन् । 

तसर्थ कन्ट्रारियन ईन्ट्रान्जिक भ्यालु ईन्भेष्टरले लगानी गर्दा कति लगानी गरेभन्दा पनि सो लगानीले कति प्रतिफल दिन्छ भन्ने कुरामा जोड दिनुपर्दछ । जुन कुरा तपाईले लगानी गर्नु भएको कम्पनीको व्यबसायिक दक्षता, कुशलता र त्यसको निरन्तरतामा भर पर्दछ । त्यस्तै सधैं नाफानोक्सान हिसाब खाता र वासलातको नम्बरले सो व्यवसायको अवस्थालाई प्रतिनिधित्व नगर्न सक्छ । व्यवस्थापनले सधै स्वीकार्य लेखाका सिद्धान्तहरुमध्येबाट बित्तीय विवरणमा भएका अंकको चौडाई बढाउने प्रयत्न गर्दछन् । तसर्थ ती अंकहरुको वास्तविकताको परीक्षण समेत गर्नुपर्दछ भने कहिलेकाही कमसल व्यवसायको मूल्य अनुपातहरु हेर्दा कमी आउन सक्छ, फलतः लगानीका लागि आकर्षक लाग्नसक्छ र त्यसैको आधारमा गरिने निर्णयले समस्याको चक्रवृति गर्न सक्छ । तसर्थ त्यस्ता कम्पनीबाट टाढै रहनु पर्दछ । 

साथै कम्पनीको वासलात कमजोर छ अथवा धेरै ऋण तथा दायित्व छ र इक्वीटीको मात्रा कम छ भने पनि ती कम्पनीहरु लगानी गर्ने क्रममा घटाउनुपर्दछ । विगतको मूल्य हेरी फेरि सोही मूल्यमा शेयर कारोबार हुन्छ भन्ने मान्यताबाट टाढै उठ्न सक्नुपर्छ । यदि व्यवसायिक मोडलले त्यसलाई सपोर्ट गर्दैन भने त्यस्ता कम्पनीको मूल्य जतिसुकै घटे पनि लगानीको लागि उपयुक्त हुन सक्दैन । विगतको ब्लुचिप कम्पनी अबका दिनमा पनि त्यस्तै हुन्छ भनेर सोच्नु गलत हुनसक्दछ । तसर्थ, ब्लुचिप कम्पनीमा गरिएको लगानी भनेर बस्नु गलत साबित हुनसक्छ । तसर्थ लगानीका केही प्रक्रियाहरु छन्, जसलाई फरक ढंगले हेरिएन भने लगानी प्रक्रिया लगानीकर्ताका लागि हानिकारक हुनसक्छ ।

तसर्थ यस्तो अवस्थामा कम मूल्यमा राम्रो कम्पनी छनोट गर्नु नितान्त आवश्यक हुन्छ । कन्ट्रारियन ईन्भेष्टमेन्ट गर्दा माथि उल्लेखित कुराहरुको आधारमा गलत कम्पनीहरुलाई पाखा लगाउने र अन्य कम्पनीहरु छनोट गर्ने क्रममा छनोट प्रक्रियामा परेका कम्पनीहरुमध्ये जुन कम्पनीको दिर्घकालीन व्यवसायिक मोडल राम्रो छ, वासलात बलियो छ, सो कम्पनी बजारका आम लगानीकर्ताको चाखमा छैन, अथवा कुनै नकारात्मक सूचनाले सो कम्पनीमा बढी असर गरेको छ, तर सकारात्मक सूचनाले कुनै असर पारेको छैन, फण्डामेन्टल्ली कम्पनी बलियो छ वा फण्डामेण्टलले हालको मूल्यलाइ सपोर्ट गर्छ, लगानीकर्तामा धैर्यता छ अथवा दिर्घकालसम्म होल्ड गर्ने मनसाय छ र उसले केही त्यस्ता राम्रा कम्पनीहरुमा लगानी गरेको छ भने उसले बजारमा अन्य लगानीकर्ताहरुले भन्दा बढी प्रतफिल प्राप्त गर्न सक्दछ । 

यसरी लगानी निर्णय गर्दा लगानीकर्ताले आम लगानीकर्ताले भन्दा फरक तरिकाले एक कदम अगाडि बढेर निर्णय गर्ने क्षमता राख्नुपर्दछ । कारण, विगत पुन नदोहोरिन सक्छ, केही व्यवसायको व्यवसायिक मोडेल आम लगानीकर्ताले नबुझेको वा बुझ्न नसक्ने हुनसक्छ साथै आम लगानीकर्ताको बुझाइ र वास्तविकता फरक हुन्छ भन्ने मान्यता महत्वपूर्ण हुन्छ । कन्ट्रारियन इन्भेष्टमेन्टको बाटो त्यति सहज भने हुँदैन, जतिबेलासम्म आम लगानीकर्ताको व्यवहार गलत साबित हुंँदैन, तबसम्म उनीहरु गलत हुन्छन । तर कहिल्यै पनि गलत कुरा दिर्घकालसम्म सही साबित हुनसक्दैन । आम लगानीकर्ताको नजरमा उनीहरु मूर्खजस्ता जस्ता लाग्दछन, तर मूर्ख भने होईनन् । तर, कम्पनीको छनोटमा कमजोरी भयो भने उनीहरु मुर्ख साबित हुन्छन् । यस्ता लगानीकर्ताहरुले खरीद गरेको शेयर त्यतिबेलासम्म होल्ड गर्नु पर्दछ जतिबेलासम्म सप्लाइ कम हुन्छ । बिक्री गर्ने उपयुक्त समय भनेको जतिबेला उच्च मागको कारण मूल्य बृद्धि भएको हुन्छ र माग पनि धेरै छ ताकि चाहे अनुसारको बेच्न सकियोस् ।

बजारलाइ धमिलो पार्न इच्छुक लगानीकर्ताहरुबाट बजारमा त्रास र पीडा वा आतङिकत पार्ने प्रयास भएको हुनसक्छ । यो समय जहाँ जहाँ आतङ्कित पार्ने प्रयत्न भएको छ र ती कम्पनीहरु व्यवसायिक मोडल र आधारभूत पक्षमा बलिया छन् र त्यसको वित्तीय अवस्था राम्रो छ । साथै वित्तीय विवरणमा प्रस्तुत अंकहरुलाई चौडा पार्ने नियतले प्रस्तुत गरिएको छैन भने त्यस्ता कम्पनीहरुमा लगानी गर्ने उपयुक्त समय हो । 

स्थायी सरकारले भर्खर कार्यभार सम्हालेको छ । सरकारले लिने नीति र ती नीतिको कार्यान्वयनमा अस्पष्टता देखिन्छ । जब नीति तर्जुमा हुन्छ र त्यसको कार्यान्वयन हुन्छ तब सरकारी खर्चमा बढोत्तरी आउँछ, व्यवसायिक वातावरणमा  सुधार आउछ । नीतिगत स्पष्टतासँगै बित्तीय बजारमा सन्तुलन, बित्तीय नैतिकतामा बृद्धि, नबिनतम प्रबिधि ज्ञान सीपको प्रयोग बढ्दछ । बजारमा लगानीयोग्य पूँजिको बिस्तारसँगै नवीनतम प्रयोगले बजारलाई नयाँ उचाइमा पुर्याउने निश्चितप्राय छ । समग्र बजारले सो कुराको महशुस गर्नु भन्दा पहिल्यै न्यून मूल्यमा राम्रा कम्पनीको शेयर खरीद गरी दीर्घकालमा औसतभन्दा बढी प्रतिफल हासिल गर्ने उपयुक्त अवसर हालको बजारले प्रदान गरेको छ। लगानीकर्ताहरुमा अत्यधिक लोभ र अत्यधिक त्रास दुबै हानिकारक साबित हुन्छन् । तसर्थ हालको समय त्रास र भयलाई काबुमा राखी लगानी निर्णय लिने सही समय हो ।

(लेखक लगानी तथा जोखिम बिश्लेषक हुन्।)