काठमाण्डौ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। चीनकै वुहान सहरकी एक ६४ वर्षीया महिलाको आँखामा कोरोनाभाइरस फेला परेपछि अहिले यो घटना निकै चर्चाको विषय बनेको हो।

त्यसो त थुप्रै रिसर्चहरुबाट पनि प्रमाणित भइसकेका छन् कि यदि आँखामा रातोपन वा सुजन देखिएमा सावधानी अपनाउनुपर्छ किनकि त्यो पनि कोरोना संक्रमणको लक्षण हुन सक्छ। 

ती वृद्धा गत जनवरीको अन्त्यतिर कोरोना संक्रमण भएको पत्ता लागेको थियो। त्यतिखेर उनलाई अस्पताल भर्ना गरिए पनि खासै स्वास्थ्य समस्याहरु देखिएका थिएनन्। गत फेब्रुअरी १८ र २० मा पुनः गरिएको स्वाब परीक्षणमा ती वृद्धामा कोरोनाको नतिजा नेगेटिभ आयो तर उनलाई अस्पतालबाट डिस्चार्ज गरियो।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार अस्पतालबाट डिस्चार्ज भएको एक सातापछि पुनः ती वृद्धाको दाहिने आँखा दुःख थाल्यो। उनी पुनः गत ८ मार्चमा आँखा परीक्षण गराउन वुहानस्थित सेन्टर थिएटर कमान्ड अस्पताल पुगिन्। चिकित्सकले ती वृद्धालाई अस्पतालमै भर्ना गरी औषधि चलाएर आँखाको दुःखाइ कम गर्ने कोसिस गरे तर भएन। 

अन्ततः चिकित्सकले ती वृद्धाको आँखाको शल्यक्रिया गरे। तर दुःखाइमा कुनै कमी नआएपछि पुनः दोस्रोपटक आँखाको शल्यक्रिया गरियो। गत अप्रिल १० मा गरिएको दोस्रोपटकको शल्यक्रियाका क्रममा ती वृद्धाको आँखाबाट निकालिएको टिस्यू स्याम्पलको जाँच गरियो। अनि नतिजा आश्चर्यजनक आयो। ती वृद्धाको आँखामा कोरोनाभाइरसको प्रोटिन फेला पर्यो।

जामा अप्थेल्मालोजी जर्नलमा प्रकाशित रिसर्चअनुसार कोरोना संक्रमितमा ओक्युलर मेनिफेस्टेसनको मामिला देखा पर्छन्। यस्तो मामिलामा आँखामा रातोपन र सुजन हुन्छ। 

यसअघि भएको अर्को एउटा रिसर्चले कोरोनाभाइरस आँखाको माथिल्लो लेयरका साथै आँसुमा पनि फेला पर्ने गरेको तथ्य सार्वजनिक गरेको थियो। उक्त रिसर्चले आँसुबाट पनि कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको जनाएको थियो। – एजेन्सी