काठमाण्डौ । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ।

नेपालको पहिलो एवं नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाण्डौको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ।

साधारणसभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्।केलमा आइएमई स्थापना भएको स्मरण गरे। अध्यक्ष ढकालले आमसेवाग्राहीवीच आईपीओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीका रुपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आइएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सवैमा धन्यवाद व्यक्त गरे। 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए। 

साधारणसभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवं आइएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए। 

अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए। 

यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढ्नेछ।

रेमिट्यान्स समाधान प्रदायकहरुमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्वस्तरीय मनी ट्रान्सफर सेवाहरु प्रदान गर्दछ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका २०० भन्दा बढी देशबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।