काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर आज वैशाख १२ गतेबाट लिलामीमा राखिएको छ। 

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता गरी कुल ९१ हजार १९५ कित्ता सेयर लिलामीमा राखिएको हो। 

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम कित्ताका लागि भने हद लाग्ने छैन।

बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख २० गते बैंकिङ समयसम्म तोकिएको छ।