काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार (पुस १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ६ प्रतिशतबराबरको बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको ५३ लाख ७३ हजार ६३६.०६ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम बीमा ऐन, २०७९ अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयसापेक्ष रुपमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन छलफल गरी स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।