काठमाण्डौ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवासम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार आइएमई पे एप प्रयोगकर्ताले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन्।
आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो। आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताइएको छ। 

कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकलाई यस्तो सेवा विस्तार गरेको यो पहिलोपटक हो। यस सहकार्यले प्रयोगकर्तालाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको छ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफँैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुबिधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।