काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण सुरु भएको छ। कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो।

गत हप्ता पौस ९ गते बिहीबारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल र आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयुक्त रूपमा आवेदक स्व. बुद्धिलाल सार्कीकी  पत्नी सीता सार्कीलाई चेक हस्तान्तरण गरेका थिए। आइएमई पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ।

कोरोनाका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आइएमईले मृतकको परिवारको पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो। साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने र देश तथा आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागिमात्र नभई राष्ट्रकै लागि अपुरणीय क्षति भएको छ। 

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरणसहित काठमाण्डौको पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको थियो। 

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।