काठमाण्डौ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब ३ करोड रुपैयाँबराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई संयुक्त रुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। फाउन्डेसनले कास्कीको पोखरास्थित गण्डकी प्रादेशिक अस्पताल, रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र काठमाण्डौको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)लाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो। 

त्यसैगरी फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब १ करोड २८ लाख रुपैयाँबराबरको अक्सिजन प्लान्ट स्थापनाका लागि पनि प्लान्ट अर्डर गरिसकेको छ।

यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिब १०० प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति रु. ५८ हजार (करिब ६० लाख) राहत उपलब्ध गराएको थियो। 

आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत सञ्चालित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। यसका साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुसँग हातेमालो गरेर अघि बढ्ने गरेको छ।