काठमाण्डौ । कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई मन्दीतर्फ धकेलिदिएको छ । 

अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)का प्रमुख क्रिस्टेलिना जर्जिवाले शुक्रबार वासिङ्टनस्थित  लेण्डर्स स्टेयरिङ कमिटीसँगको बैठकपछि यो कुरा बताएकी हुन् । 

आइएमएफ चिफले भनेकी छिन्–‘विश्वको अर्थव्यवस्था मन्दीको चपेटामा परेको कुरा प्रष्ट भइसकेको छ । र, अवस्था सन् २००९ को मन्दी भन्दा खराब हुने देखिँदैछ ।’ 

यस्तो अवस्थामा विकासशील देशहरु यसबाट जोगिन ठूलो फण्डको आवश्यकता पर्ने पनि उनले औंल्याएकी छिन् । प्रारम्भिक अनुमानमा यस्तो फण्डको राशि २.५ ट्रिलियन डलरसम्मको हुनेछ । उनले यो प्रारम्भिक अनुमान मात्र रहेको र राशि अझै बढ्नसक्ने समेत संकेत गरेकी रोयटर्सले जनाएको छ । 

जर्जिवाले कोरोना भाइरसको संक्रमणल उदाउँदो अर्थतन्त्रहरुको अवस्था त झनै जटिल बन्न पुगेको बताएकी छिन् । बितेका केही हप्तामा यस्ता अर्थतन्त्रका बजारहरुबाट करिब ८३ बिलियन डलर बराबरको पूँजी निकालिसकिएको छ । 

पहिलादेखि नै कर्जाको दलदलमा फसेका कतिपय देश कोरोनाबाट हुने प्रभावलाई छलेर माथि निस्किने संभावना न्यून रहेको उनको दाबी छ । 

उनका अनुसार अहिलेदेखि नै कम आय हुने विश्वका ८० मुलुकले आइएमएफसँग सहयोग मागिसकेका छन् । 

उनले यी देशहरुको घरेलु भण्डार तथा स्रोत साधनले मात्र कोरोनाबाट परेको प्रभाव कम गर्नसक्ने छैन । यस्तो अवस्थामा समस्याग्रस्त देशहरुलाई मन्दीको दलदलमा डूब्न नदिन आइएमएफले तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले अभूतपूर्वक कदम उठाउने संकेत समेत गरेकी छिन् । तर, त्यो कदम कस्तो हुन्छ भन्ने उनले बिस्तारमा बताएकी छैनन् । 

आइएमएफ प्रमुखले बैठकमा लेण्डर्स स्टेयरिंग कमिटीसँग आपतको यो अवस्थासँग जुध्न कोषमा थप ५० बिलियन डलर राखिदिन समेत आग्रह गरेकी छिन् ।