काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र बालाजुमा अवस्थित भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामूहिक दुर्घटना बिमा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।

यो सम्झौतापछि सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५०० भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामूहिक दुर्घटना बिमा हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहकहरुको रु.५० हजारको औषधोपचार बीमा तथा रु.१ लाखको व्यक्तिगत दुर्घटना बीमा गरी आफ्ना ग्राहकहरुको हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा सहकारी संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए ।

सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने समेत बताइएको थियो ।