काठमाण्डौ । ललितपुरमा जिल्लाभरि आइतबार(कात्र्तिक २ गते)देखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सबै सरोकारवालासँग छलफलपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँझ एक सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाहरु प्रवाह स्थगित गरिएको प्रष्ट पारेको हो । 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतसँगको छलफल, परामर्श एवम् निश्कर्षका आधारमा यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ । 

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोभिड १९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई संक्रमण सेवाग्राहीहरुमा समेत फैलनसक्ने उच्च जोखिम रहेका कारण कोभिड १९ ले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।